डुमरवाना क्षेत्रलाई ‘मिल्क सिटि’ बनाउन प्रस्ताव
ए वान डेस्क /
बाराको उत्तरी क्षेत्रलाई मिल्क सिटि बनाउन नेकपा माओवादी केन्द्रका नेताहरुले सरकारसंग माग गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरवानालाई केन्द्रबिन्दु बनाएर उत्तरी क्षेत्रलाई मिल्क सिटि बनाउन नेताहरुले सरकारसंग माग गरेका हुन् ।
कृषिमन्त्री चक्रपाणि खनाल (बलदेव ) लाई भेटेर माओवादी केन्द्रका नेताहरुले वडा २,३,४,५,१३,१४,१५,१६,१७,१८ लाई मिल्क सिटि बनाउन प्रस्ताव गरेका हुन् । मन्त्री खनालाई भेट्न माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अनिल श्रेष्ठ, केन्द्रिय सदस्य राजन पौडेल, रामशरण बर्तोला, राजु अधिकारी लगायतका नेताहरु मन्त्रालय पुगेका थिए ।
मन्त्री खनाललाई प्रस्ताव पेश गर्दे नेताहरुले बारा जिल्लाको उत्तरी क्ष्ँेत्र दूध उत्पादनमा आत्मनिर्भर बन्दै गईरहेकोभन्दै तत्कालै मिल्क सिटि बनाउन आग्रह गरे । जवाफमा मन्त्री खनालले मिल्क सिटि अर्थात दूधको सहर बनाउने बिषयमा आफु गंभिर रहेको बताउनुभयो ।
‘मन्त्री ज्युले प्रस्ताव सकरात्मक रहेकोभन्दै धन्यवाद दिनुभयो, यसले समग्र उत्तरी क्षेत्रका किशानलाई राहत पुग्ने हामीले बिश्वास गरेका छौ’ ए वान समाचारसंग कुरागर्दे माओवादी केन्द्रका केन्द्र्रिय सदस्य राजन पौडेलले भन्नुभयो । यसअघि जिल्ला कृषि बिकास कार्यालय बाराले कलैयालाई मिल्क सिटीको रुपमा विकास गर्ने नीति अघि सारेको थियो ।
जिल्लामा करिब ७० हजार किशान पशुपालन व्यवसायमा संलग्न छन् । जिल्लामा दैनिक ९० लाख रुपैयाँ मूल्य बराबरको एक लाख ८० हजार लिटर दूध उत्पादन हुदै आएको छ । दैनिक ४० हजार लिटर दूध हेटौंडा, काठमाडौ, पोखरा, विराटनगर, सप्तरीलगायत ठाउमा बिक्री हुदै आएको छ भने करिब २२ प्रतिशत दूध स्थानीय बजारमा, मिठाई पसल तथा चिया पसलमा खपत हुन्छ ।
यसैगरी, जिल्लामा उत्पादन भएको पाच लाख रुपैयाँ मूल्यको १० हजार लिटर दूध दैनिक भारतीय बजारमा बिक्री गरिन्छ ।