सिमरामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

बाराको सिमरामा आइतबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक यूवाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक यूवा घाइते भएका छन् ।
पथलैया–वीरगन्ज व्यापारिक मार्ग अन्तर्गत सिमरामा ना६ख २८९५ नम्बरको ट्रकले ना४०प ४१९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट जीतपुरसिमरा उपमहानगरपालिका १ का ३० वर्षीय उदितनारायण झाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका झालाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनाका अर्का घाइते जीतपुरसिमरा उपमहानगरपालिका २ का १८ वर्षीय उत्पल आचार्यको एलएस न्यूरो अस्पतालमा उपचार भईरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।
सर्भिस लेनबाट मुख्य लेनमा निस्किएर विपरित दिशामा गुडिरहेको ट्रकले सिमराबाट पथलैयातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो । प्रहरीले ट्रकसहित चालक धादिङ गजुरीका सन्दीप भुजेललाई नियन्त्रणमा लिएको छ ।