जीतपुरसिमरामा फोहोरभित्रको फोहोरी राजनिति : बिरोध मात्रै गर्ने की बिकल्प पनि दिने ?
जीतपुरसिमरा उपमहानगरपालिकाले विरगञ्ज महानगरपालिकासंग ल्याण्डफिल्ड साईट प्रयोग गर्ने सम्झौता गरेपछि यतिबेला फोहोरको विषय निकै चर्चामा छ । जीतपुरसिमराको फोहोर विरगञ्ज लगेर विसर्जन गर्ने सहमतीपछि सामाजिक सञ्जाल फोहोरमय बनेको छ ।
दिर्घकालिन समाधान गर्ने गरी आन्तरीक गृहकार्य गरिरहेको जीतपुरसिमराले तत्काल देखिएको समस्या समाधान गर्न विरगञ्ज महानगरपालिकासंग सम्झौता गरेको उपमहानगरपालिकाले जनाएको छ ।
फोहोरभित्रको कथा
जीतपुरसिमरा उपमहानगरपालिकाभित्रको फोहोरको समस्या हालैको समस्या होईन् । यो बर्षौदेखिको समस्या हो । यसअघि डा. कृष्ण पौडेल हुदादेखि कै समस्या हालसम्म समाधान हुन सकेको छैन् । बिगतमा जस्तै अहिलेका नगर प्रमुख राजन पौडेलले पनि फोहोर व्यवस्थापन गर्ने बिषयमा चासो नदेखाएका भने हैनन् । तत्कालको समस्या समाधानदेखि दिर्घकालिन समस्या समाधान गर्ने काममा समेत नगर प्रमुख पौडेल लागिरहे । जीतपुरसिमरा भित्रको चोक, गल्ली सबतिर थुप्रिएको फोहोरले उनलाई यसरी लपेट्यो कि त्यो बाहेक अर्थोक हेर्ने फुर्सद नै भएन । नयँ मेयरको दिनचर्या कहिले हेटौडा, कहिले दुधौरा खोला क्षेत्रमा त कहिले कता, हुन्थ्यो । फोहोर व्यवस्थापन गर्ने कार्यको आउजाउमा शुरुवाती समय पौडेलको बित्न थाल्यो ।
उपमहानगरपालिकाको फोहोर जहा फालिन्थ्यो त्यहाका बासिन्दा आन्दोलनमा थिए । जीतपुरसिमराको फोहोर त्यहा फ्याक्न रोक लगाइएको थियो । उनीहरूलाई मनाउन नगर प्रमुख राजन पौडेलले फोहोर व्यवस्थापनसग जोडिएका सरोकारवालासग पटक पटक बैठक गरे । सञ्चारमाध्यमदेखि सर्वसाधारणले पौडेलमाथि यस्तो दबाब थोपरे, की जीतपुरसिमराको फोहोरको समस्या नसुल्झाएसम्म उनलाई अन्यत्र हेर्ने छुट नभएको ‘माहोल’ बनाइयो । लामो समयपछि अन्ततः त्यहाका स्थानीय शर्वसाधारणसंग रोजगारी, स्वास्थ्य चेकजाच लगायतका सहमती गरियो । त्यसपछि पौडेलले राहतको सास फेर्न भ्याय ।
“फोहोरमा यति डरलाग्दो राजनीति रहेछ, त्यसमै लागिराखेको भए उहँको राजनीतिक जीवन नै तहसनहस हुनसक्थ्यो, फोहोर व्यवस्थापन हुनै नदिन सबै एकजुट रहेछन्” पौडेल निकट एक जना व्यक्तिले भने ।
पौडेलले तत्कालका लागि फोहोर नउठ्ने समस्या त हल गरे, तर यसको दीर्घकालीन समाधान के ? भनेर फेरी सामाजिक सञ्जाल तात्न थाल्यो ।
तत्कालको फोहोर व्यवस्थापन ‘फलामे चिउरा’ बनेपछि पौडेल त्यहाबाट सुटुक्क निस्किए । त्यसपछि पौडेलले आफ्नो ध्यान अन्यत्र मोडे । नगरको चौतर्फी विकास गर्न संरचनात्मक विकासबाट आफ्नो जीतपुरसिमरा मोडल शुरु गरेका पौडेलले शिक्षामा हात हाले । कक्षा ८ को परिक्षा आफैले लिएर जनसमर्थन बटुलेपछि उनी त्यतिकै चुप भने बसेनन् । बिद्यालय मर्ज, सामुदायिक बिद्यालयको शिक्षा सुधार, बिद्यालयका प्रअसंग निरन्तर छलफल, सामुदायिक बिद्यालयको छड्के अनुगमन यस्तै यस्तै कार्यले फेरी पौडेल प्रशंसाको पात्र बन्न थाले । त्यसो त त्यसबेलासम्म पनि पौडेल आफुलाई ‘गुमनाम’ गराउन खोजिरहेका थिएनन् । शिक्षापछि स्वास्थ्यमा पौडेलले हात हाले । क्रमशः उनी जीतपुरसिमरा मोडललाई शुरुवाती समयमा स्थापित गराउन लागिपरे ।
यसरी भयो सम्झौता
केहि समयअघिसम्म जीतपुरसिमराको फोहोर पथलैयाको जंगलमा फालिन्थ्यो । बजार, घर, पसल, होटललगायतबाट निस्कने फोहोर पथलैयामा विसर्जन गरिन्थ्यो । पछिल्लो केहि समयअघि त्यहाका स्थानीयले फोहोर फाल्न नदिएपछि सबै ठाउको फोहोर उठ्न छाड्यो । जीतपुरसिमराबाट हाल दैनिक ५ देखि ६ मेट्रिक टनसम्म फोहोर उत्सर्जन हुने गरेको छ । पथलैयामा फोहोर फाल्न नदिएपछि उपमहानगरपालिकाले वडा नं. ४ र वडा नं. १४ को सिमानामा पर्ने दुधौरा खोलामा फोहोर व्यवस्थापन गर्ने प्रयास गर्यो । उक्त स्थानमा पनि विरोध भएपछि उपमहानगरपालिका केहि समय चुप बस्यो । कतैबाट फोहोर नउठेपछि दिनप्रतिदिन दुर्गन्ध बढ्न थाल्यो । बजार क्षेत्र र घरघरमा फोहोर थुप्रिन थालेको महिनौपछि नगर प्रमुख पौडेलले तत्कालको लागी विरगञ्ज महानगरपालिकासंग सम्झौता गरे । नगर क्षेत्रभित्र फोहोर व्यवस्थापन तत्काल हुन सक्ने अवस्था नभएपछि पौडेलले वीरगन्जका मेयर राजेशमान सिंहसंग सहकार्यको प्रस्ताव राखे । उक्त प्रस्तावमा वीरगन्ज महानगर सकारात्मक देखिएपछि दिपक्षीय सम्झौता भयो ।
यस्तो भयो सम्झौता
फोहोर व्यवस्थापनका लागि जीतपुरसिमरा र विरगञ्जबिच पाच बुदे सम्झौता भयो । सम्झौता पत्रमा जीतपुरसिमराका नगर प्रमुख राजन पौडेल र वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार जीतपुरसिमराले अब दैनिक उत्सर्जन हुने फोहोर व्यवस्थापनका लागि वीरगन्जको नगवास्थित ल्याण्डफिल्ड साइट प्रयोग गर्नेछ । त्यसवापत जीतपुरसिमराले वीरगंज महानगरपालिकाको कार्यालयलाई प्रति मेट्रिक टन कर बाहेक एक हजार छ सय ५० रुपैया बुझाउनेछ ।
फोहोरभित्रको फोहोरी खेल
विरगञ्ज महानगरपालिकासंग सम्झौता भएदेखि नै सामाजिक सञ्जाल निकै तातिएको छ । यतिसम्म छ की फोहोरको बिषयलाई जोडेर बिरोध गर्नेहरु र राजिनामा माग्नेहरुको कमि छैन् । फोहोरभित्रको फोहोरी खेल यतिसम्म भईरहेको छ की यहा बिरोध गर्नेहरु मात्र छन्, नकी बिकल्प दिने ? समाधानको उपाय दिने ? सल्लाह दिने, अनि सुझाव दिने प्रायः कमै भेटिन्छन् । सामाजिक सञ्जालमा आफ्नो दायित्व र जिम्मेवारी नै भुलेर स्टाटस लेख्नेहरुको पनि कमि छैन् यहा । तपाई हामी आफैले फोहोर व्यवस्थापना ध्यान दिने हो भनेपनि नगरको लाखौ रकम बचत हुन्छ । त्यो भनेको तपाई हाम्रै कर हो । त्यसकारण तपाई हामी सबै मिलेर जीतपुरसिमराको विकास गर्नेतर्फ लागौ । सकरात्मक सल्लाह र सुझाव दिऊ । सामाजिक सञ्जालमा अनावश्यक लेख्ने समयमा बरु सकरात्मक छलफल गरौ । फोहोरभित्र फोहोरी राजनिति गर्न बन्द गरौ ।
प्रदिप गौतम, सञ्चारकर्मी, सिमरा