भारतमा कोरोनाका कारण दैनिक मृत्यु हुनेको संख्या हालसम्मकै उच्च

ए वान डेस्क
२९ बैशाख २०७८, बुधबार १२:१४

पछिल्लो २४ घण्टामा भारतमा कोभिड–१९ संक्रमणका कारण हालसम्मकै धेरै मानिसको ज्यान गएको छ । बुधबार सार्वजनिक आँकडाअनुसार एकैदिन चार हजार २०५ कोरोना संक्रमितको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।

यसअघि, मंगलबारको तथ्यांकानुसार एकैदिन चार हजार १८७ जनाको संक्रमणका कारण मृत्यु भएको थियो । भारतमा हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख ५४ हजार १९७ पुगेको छ । त्यसमध्ये करिब ५० हजार मृत्यु पछिल्लो १४ दिनमा मात्र भएको जनाइएको छ ।मृतकको संख्या बढिरहँदा दैनिक संक्रमितको संख्या भने ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ४८ हजार ४२१ नयाँ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । यसअघि, दैनिक चार लाख बढीमा कोरोनाभाइरस संक्रमण हुँदै आएको थियो । भारतमा हालसम्म संक्रमितको संख्या दुई करोड ३३ लाख ४० हजार ९३८ पुगेको छ ।

बुधबार यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनाअनुसार कोरोना संक्रमणमुक्त हुने दर ८०.०४ प्रतिशत रहेको छ भने ३७ लाख चार हजार ९९ सक्रिय संक्रमित रहेका छन् ।

महाराष्ट्र, उत्तर प्रदेश, दिल्ली, राजस्थान, छत्तिसगढ, बिहार, गुजरात, मध्यप्रदेश, तेलंगनालगायत १८ राज्यमा दैनिक संक्रमितको संख्यामा लगातार कमी आइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*