श्रीलंका विष्फोटः सरकारी ‘लापरवाही’ मा राजनीतिक विवाद, अहिलेसम्म ३१० को मृत्यु

ए वान डेस्क
१० बैशाख २०७६, मंगलवार ११:२८

श्रीलंकामा गत आइतबार चर्च र होटलहरुमा भएका आठ वटा श्रृंखलावद्ध बम विष्फोटमा परी मृत्यु हुनेको संख्या तीन सय १० पुगेको छ । प्रहरीले विष्फोटमा परी पाँच सय मानिसहरु घाइते भएका जनाएको छ ।

श्रीलंकाका सरकारी अधिकारीहरुले अन्तर्राष्ट्रिय सञ्जालको सहयोगमा बम विष्फोट गराइएको दाबी गरिरहेका छन् । सरकारले विष्फोटमा नेशनल तौहीद जमात नामक स्थानीय चरमपन्थी समूहको हात रहेको बताइरहेको छ । तर अहिलेसम्म कसैले पनि आक्रमणको जिम्मेवारी भने लिएको छैन । श्रीलंकामा सोमबार रातिबाट संकटकाल लगाइएको छ ।

बढ्यो विवाद
यसैबीच आक्रमणको बारेमा घटना अगावै सूचना प्राप्त भए पनि सरकारले सुरक्षाको प्रवन्ध मिलाउन नसकेको भन्दै श्रीलंकामा हंगामा मच्चिएको छ । राष्ट्रपति मैत्रीपाला सिरीसेनाका सल्लाहकार शिराल लकथिलाकाले बीबीसीसँगको कुराकानीमा सरकारका तर्फबाट भएको भनिएको लापरबाहीको अनुसन्धान गरिने बताएका छन् ।

यसअघि श्रीलंकाका एक वरिष्ठ मन्त्री रजित सेनारत्नेले कोलम्बोमा पत्रकारहरुसँगको कुराकानीका क्रममा अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सीहरुले आक्रमण हुनेसक्ने सूचना दिएको पुष्टि गर्दै उक्त सूचना प्रधानमन्त्री रनिल विक्रमसिंघेसम्म पुग्न नसकेको बताएका थिए ।

श्रीलंका प्रहरीले आक्रमणमा संलग्न रहेको आशंकामा अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको पुष्टि गरेको छ । प्रहरीले आक्रमणमा कसको हात छ भन्ने बारेमा भने केही पत्ता लगाउन सकेको छैन ।

पक्राउ परेका सबै श्रीलंकाकै नागरिक भएको बताइएको छ । उनीहरु माथि कुनै अन्तर्राष्ट्रिय संगठनसँग सम्पर्क रहे–नरहेको बारेमा अनुसनधान भइरहेको उल्लेख गरेको छ ।

श्रीलंकाका प्रधानमन्त्रीले सम्भावित आक्रमणका बारेमा प्रहरी घटना अगावै जानकार रहेको पाइएको बताउँदै मन्त्रिपरिषद्मा भने यस बारेमा कुनै जानकारी पुग्न नसकेको प्रष्ट पारेका छन् । श्रीलंकाका रक्षामन्त्री आर विजयवर्धनले भनेका छन्, ‘‘यो आत्मघाती आक्रमण हो । गुप्तचर एजेन्सीहरुले आक्रमणका बारेमा सूचित गरेका पनि थिए । तर सुरक्षा प्रवन्ध मिलाउनु अगावै आक्रमण भयो । आक्रमणको षड्यन्त्र विदेशमा रचिएको थियो ।’’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*