दोश्रो डुमरवाना भेट्रान फुटबल प्रतियोगिता : सेमिफाईनल समिकरण पुरा

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा जारी दोस्रो डुमरवाना भेट्रान फुटबल प्रतियोगिताको सेमिफाईनल खेलको समिकरण पुरा भएको छ । डुमरवाना खेल मैदानमा आज भएको खेलमा नागसोति भेट्रान हेटौडा र बिरगञ्ज सिटि भेट्रान विजयी भएसंगै सेमिफाईनल खेलको समिकरण पुरा भएको हो ।
आज भएको पहिलो खेलमा सिमरा भेट्रान क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै नागसोति भेट्रान हेटौडा सेमिफाईनल प्रवेश गरेको हो । नागसोतिमा जितमासंतोष श्रेष्ठ, निमा लामा र अमित सिंहले समान एक एक गोल गरेका थिए ।
यता, सिमराका लागी भने चन्द्रिका चौधरीले एक गोल गरेका थिए । प्रतियोगिता अन्र्तगत नागसोतिका निमा लामा म्यान अफ द म्याच घोषित भए । उनलाई जीतपुरसिमरा उमपहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष हेम नारायण चौधरीले म्याच अफ द म्याचको ट्रफि प्रदान गरेका थिए ।
यसैगरी आजै भएको दोश्रो खेलमा नव जनजागृती भेट्रान क्लब सिमरालाई ३–० गोल अन्तरले पराजित गर्दैै बिरगञ्ज सिटि भेट्रान बिरगञ्ज सेमिफाईनल प्रवेश गरेको छ । विरगञ्जको जितमा सुरेश कुमार श्रेष्ठले १ र हिरालाल चौधरीले २ गोल गरेका थिए । प्रतियोगिता अन्र्तगत बिरगञ्जका हिरालाल चौधरी म्यान अफ द म्याच घोषित भए ।
उनलाई नेकपा एमालेका नेता राजकुमार अर्यालले म्यान अफ द म्याचको ट्रफि प्रदान गरेका थिए । प्रतियोगिता अन्र्तगत भोलि आयोजक डुमरवाना भेट्रान क्लब र त्रिसुल क्लब बकुलिया भेट्रानको बिचमा पहिलो सेमिफाईनल खेल हुनेछ । दुई टिमबिचको खेल दिउसो ४ बजेदेखि शुरु हुने आयोजक क्लबका अध्यक्ष मनोज चौधरीले जानकारी दिनुभयो ।
चैत्र ३० गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले १ लाख र उप बिजेताले ५० हजार पाउनेछन् । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको मुख्य सहयोगी संस्थामा जीतपुरसिमरा उमपहानगरपालिकाको कार्यालय र वडा नम्बर १५ को कार्यालय रहेको छ ।