जीतपुरसिमरामा विधेयक समितिको पहिलो बैठक सम्पन्न

जीतपुरसिमरा उपमहानगरपालिकाको विधेयक समितिको पहिलो बैठक सम्पन्न भएको छ । संयोजक सन्जय पटेलको अध्यक्षतामा सोमबार उपमहानगरपालिकाको सभाहलमा समितिको पहिलो बैठक सम्पन्न भएको हो ।
बैठकमा समितिलाई अझ सक्रिय बनाउने, नीति तथा नियम निर्माणमा तिव्रता दिने र समितिमा रहेका सम्पूर्ण सदस्यहरुलाई सक्रिय रुपमा काम गर्ने विषयमा गम्भीर छलफल भएको संयोजक पटेलले बताए । उक्त बैठकमा नगरप्रमुख राजन पौडेल, प्रमुख प्रशासकीय अधिकृत शान्तीराज प्रसाईं, वडा नं ५ का वडाध्यक्ष दिपेन्द्र चौधरी, वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेल लगायत समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
नगरप्रमुख राजन पौडेलले विधेयक समितिको प्रभावकारी कार्यान्वयनले उपमहानगरपालिकाको सुशासन र जनताको विश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गरे । संयोजक सन्जय पटेलले समितिको पहिलो बैठक सकारात्मक रुपमा सम्पन्न भएको भन्दै आगामी दिनमा विधेयक निर्माण र संशोधनका कार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।