जितपुरसिमरा गोल्डकप : पुलिस स्तब्ध, मछिन्द्र सेमिफाइनलमा

ए वान डेस्क
२४ चैत्र २०८१, सोमबार ०७:४७

साविक विजेता नेपाल पुलिस क्लब १५औं जीतपुरसिमरा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । सिमरा रंगशालामा आइतबार राती सम्पन्न खेलमा मछिन्द्र फूटबल क्लबसंग टाईब्रेकरमा ४–३ ले पराजित हुँदै पुलिस प्रतियोगिताबाट बाहिरिएको हो ।

निर्धारित समय १–१ को बराबरीमा सकिएपछि नतिजा टाईब्रेकरबाट निकालिएको थियो । टाईब्रेकरमा अघिल्लो वर्षको उपाधि रक्षा गर्ने पुलिसको यात्रामा पूर्णविराम लाग्न पुग्यो ।

यता मछिन्द्रले भने अघिल्लो वर्ष फाइनलमा पुलिससंग व्यहोरेको हारको बदला लिएको छ । १४औं संस्करणको फाइनलमा पुलिसले मछिन्द्रलाई पराजित गर्दै पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि उचालेको थियो ।

साविक विजेतालाई स्तब्ध पार्दै सेमिफाइनलको यात्रा तय गर्ने क्रममा मछिन्द्रले उत्कृष्ट खेल पस्कियो । पुलिसले लिएको अग्रता उल्टाउँदै मछिन्द्रले नतिजा आफ्नो पक्षमा पारेको हो । प्रतिस्पर्धात्मक पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा गोल गर्ने अवसर दुवै टिमले गुमाए । दुवै टिमको आक्रमक खेलले पहिलो हाफ रोमाञ्चक बन्न पुग्यो ।

दोस्रो हाफमा पुलिसले खेलमा अग्रता लियो । खेलको ४८औं मिनेटमा पुलिसले प्रविन थापाको गोलबाट अग्रता लिएको थियो । विवेक पाण्डेले डिबक्स बाहिरबाट प्रहार गरेको बल प्रविन थापालाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

खेलमा १–० ले पछि परेपनि संयमित खेलेको मछिन्द्रले ६१औं मिनेटमा बराबरी गोल फर्कायो । विवेक राईको फ्रिकिक बलमा राजिव लोप्चनले गोल गर्दै मछिन्द्रलाई खेलमा फर्काए । विवेकको फ्रिकिक बललाई अनिल रानामगरले नियन्त्रणमा लिँदै राजिवलाई प्रहार गर्ने मौका दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*