माडी क्याम्पसमा स्ववियु निर्वाचन : दुई विद्यार्थी संगठनको आपत्ति

ए वान डेस्क
२८ फाल्गुन २०८१, बुधबार १९:१३

माडी, चितवन । माडी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन रोक्ने प्रयास भइरहेको भन्दै नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र संयुक्त स्वतन्त्र विद्यार्थी युनियन, माडी क्याम्पस समितिले आपत्ति जनाएका छन् ।

दुवै संगठनले छुट्टाछुट्टै ध्यानाकर्षण पत्र जारी गर्दै ‘केही संघ–संगठनहरूले अनावश्यक विवाद सिर्जना गर्दै बिनाकारण सहमति तोड्ने, क्याम्पसमा ताला लगाउने र अन्य छात्रछात्रामाथि निराधार आरोप लगाउने जस्ता गतिविधिहरू गरिरहेको’ उल्लेख गरेका छन् । यस्ता कार्यहरूले निर्वाचन प्रकृयामा अवरोध पुगेको भन्दै दुबै विद्यार्थी संगठनले विरोध जनाउँदै क्याम्पस प्रशासनमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

दुबै विद्यार्थी संगठनले क्याम्पस प्रशासन र निर्वाचन समितिलाई तुरुन्त उचित समाधान निकाल्न र निर्वाचनको तालिका सार्वजनिक गरी स्वतन्त्र रूपमा सम्पन्न गर्न आग्रह गरेका छन् । अखिल क्रान्तिकारीका क्याम्पस ईकाइ अध्यक्ष रवि भूर्तेल र युनियनका अध्यक्ष विश्वास लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचन रोक्न कुनै बहाना खोजिएको खण्डमा चरणबद्ध आन्दोलनको घोषणा गरिने चेतावनी समेत दिइएको छ ।

ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य पदमविलाश पन्तसिहत विद्यार्थी नेताहरू अंशु चाैधरी र अस्मि महतो माडी क्याम्पस पुग्नुभएको थियो । क्याम्पसमा हाल स्ववियु निर्वाचनको मिति तोकिए पनि विभिन्न विवादका कारण प्रक्रिया अघि बढ्न सकेको छैन । अब क्याम्पस प्रशासन र सरोकारवालाहरूको निर्णय कस्तो आउँछ भन्ने चासो विद्यार्थीहरूमा बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*