जितपुरसिमराबाट १० दिनदेखि हराएका तीन वर्षीय अंश चौधरी भेटिए मृत

ए वान डेस्क
२६ माघ २०८१, शनिबार १९:१३

बाराको जीतपुरबाट माघ १७ गतेदेखि हराएका तीन वर्षीय बालक अंश चौधरी शनिबार दिउँसो मृत भेटिएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ र वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ को बीचमा रहेको टेडा रोडको किया सोती खोलामा बालक मृत भेटिएका हुन् ।

ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाइवाको नेतृत्वमा रहेको प्रहरी टोली र सरसफाईकर्मीले बिहानदेखि किया सोती खोलाको पानी घटाएर फोहोर पन्छाउँदै खोजी गरेको थियो । खोजी गर्दै जाँदा बालक घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् ।

पानीमा डुबेको अवस्थामा भेटिएका बालकको शव सुन्निएको छ । उनको मृत्यु कहिले र कसरी भयो भन्ने खुल्न सकेको छैन । प्रहरी टोलीले बालकको शव शल्यपरीक्षणका लागि कलैया अस्पताल पठाएको छ । प्रहरी नायब उपरीक्षक वाइवाले शल्यपरीक्षण रिपोर्टबाट बालकको मृत्युको कारण खुल्ने जानकारी दिएकी छिन् ।

बालक भेटिएको स्थान पथलैया–वीरगन्ज व्यापारिक मार्ग अन्तर्गत जीतपुर चोकबाट करिब आधा किलोमिटर पश्चिमतर्फ पर्दछ । १० दिनअघि हराएका बालकलाई सिसिटिभी फुटेजमा सोही क्षेत्रको वरपर हिडिरहेको अवस्थामा देखिएको थियो ।

धेरै दिन वितिसक्दा पनि बालकको अवस्था पत्ता लाग्न नसकेपछि प्रहरीले खोलामा डुबेको हुनसक्ने आशंकामा खोजी थालेको हो । प्रहरीले यसअघि वीरगन्जस्थित विपद् व्यवस्थापनमा रहेका तालिमप्राप्त कुकुर ल्याएर सो क्षेत्रमा बालकको खोजी समेत गरेको थियो । तालिमप्राप्त कुकुर खोलानजिकको सोही सडक हुँदै पश्चिमतर्फ गएको थियो ।

रौतहटको दुर्गाभगवती गाउँपालिका १ घर भएका रितेश चौधरी र अञ्जली चौधरीले छोरा अंशलाई करिब डेढ महिनाअघि जीतपुरस्थित मामाघर पठाएका थिए । पाँच महिनाअघि छोरीलाई जन्म दिएकी अञ्जलीले चिसोको समयमा दुई बच्चालाई एकैसाथ स्याहार गर्न गाह्रो भएपछि अंशलाई मामाघर पठाएकी थिईन् ।

अंश डेढ महिनादेखि मामाघरमै बस्दै आएका थिए । मामाघरमा उनलाई हजुरआमाले स्याहार गरिरहेकी थिईन् । माघ १७ गतेपनि अंश हजुरआमाकै नजर सामु थिए । अंश घरको आगनमा खेलिरहेका थिए भने हजुरआमा घरको काम समेत गरिरहेकी थिईन् ।

त्यसैबेला आगनबाट बेपत्ता भएका अंश केही समयमा बजार क्षेत्रको सिसिटिभी क्यामरामा एक्लै दौडिरहेको अवस्थामा कैद भएका थिए । घरवरपरको क्षेत्रमा खोजी गरिएपनि नभेटेपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए । घटनाको जानकारी पाएदेखि ईलाका प्रहरी कार्यालय सिमरा, जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय जीतपुर, पथलैया चौकीका प्रहरी टोलीले बालकको खोजी गरिरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*