नारायणी अस्पतालका डाक्टर र नर्सहरुको आन्दोलनप्रति नेविसंघ पर्साको समर्थन

वीरगन्जको नारायणी अस्पतालमा ५ सय शैयाको भवन निर्माणका लागि अस्पतालका चिकित्सक,नर्स र स्वास्थ्यकर्मीहरुले थालेको आन्दोलनप्रति नेपाली कांग्रेसकाे भातृ संगठन नेविसंघ पर्साले पनि समर्थन र ऐक्यबद्धता जनाएको छ ।
सरकारले पाँच वर्षअघि मन्त्रीपरिषदकै बैठकबाट नारायणी अस्पताललाई केन्द्रिय अस्पताल घोषणा गर्दै ५ सय शैयाको पाँच तल्ले भवन निर्माणका लागि बजेटसमेत निकासा गरेपनि शहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनि (ठेकेदार) बीचको विवाद अदालतमा पुगेपछि ५ बर्षदेखि भवन निर्माण कार्य अन्योलमा रहेको छ।
भवन निर्माणको विवाद सम्बन्धि मुद्धाको पेशी सर्वोच्च अदालतमा यहि माघ २८ गते छ ।
अदालतले उक्त मुद्धाको छिनोफानो गरेर भवन निर्माणको प्रकृया छिट्टै सुरु गर्नुपर्ने माग राखेर नारायणी अस्पतालका डाक्टर,नर्स र कर्मचारीहरुले गत शुक्रबार बिहान अस्पताल अगाडिको त्रिभुवन राजपथको सडकमा एप्रोन लगाएरै सडकमा धर्ना दिएका थिए ।
उक्त आन्दोलनप्रति मंगलबार नेविसंघ पर्साले समर्थन जनाएको संघका पर्सा सभापति रमेश यादवले बताए । मंगलबार नेविसंघका नेताकार्यकर्ताहरुले अस्पताल परिसरमा पुगेर भवन निर्माण संघर्ष समितिका संयोजक तथा अस्पतालका बरिष्ठ चिकित्सक डा. नीरज सिंहलाई नेविसंघको तर्फबाट ऐक्यबद्धता रहेको पत्र हस्तान्तरण गरेको यादवले बताए । साथै ५ बर्षदेखि अल्झिएको भवन निर्माणको प्रकृया तत्काल सुरु गर्न नेपाल सरकारसंग मागपनि गरिएको उनले बताए ।