पर्सामा गाँजा खेती नष्ट गर्ने प्रहरीको अभियान जारी

पर्सामा केहि समय यता लागू औषध गाँजाको खेती फस्टाउन थालेपछि प्रहरीले त्यसलाई निरुत्साहित गर्न गाँजा खेती नष्ट पार्ने अभियानलाई निरन्तरता दिदै आएको छ ।
यसैक्रममा आज(बुधबार)पनि प्रहरीले पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर २ थरघट्टीमा करिब ६ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती फडानी गरेर नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र मातहतका प्रहरी पोष्टबाट २४ जनाको संख्यामा खटिएको प्रहरीले टोलीले करिब ३ हजार २ सय वटा गाँजाको बोट फडानी गरेर नष्ट गरेको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । सुर्ती खेती गरिएको खेतको बिचमा रोपिएका गाँजाका बोटहरु प्रहरीले फडानी गरेर नष्ट पारेको उनले बताए ।
पर्साका विभिन्न स्थानमा लुकिछपी गाँजाको खेती भइरहेको सुचना आएपछि प्रहरीले अभियान नै चलाएर गाँजा खेती नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।