गाजा क्षेत्रमा नाकाबन्दी गर्ने इजरायलको घोषणा

मध्यस्थता र इजरायली बन्धक छुटाउन कतारको प्रयास, द्वन्द्वबारे छलफल गर्न अरब लिगका विदेशमन्त्रीको बैठक बस्दै
ए वान डेस्क
२३ आश्विन २०८०, मंगलवार ०७:१०

जेरुसेलम — इजरायलले प्यालेस्टाइनीहरूको बसोबास रहेको गाजा क्षेत्रमा पूर्ण नाकाबन्दीको घोषणा गरेको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले शनिबार इजरायलमा आक्रमण गरेपछि जवाफी कारबाहीस्वरूप इजरायलले गाजामा खाद्यान्न, इन्धन, विद्युत् तथा खानेपानी आपूर्ति बन्द गरेको जनाएको हो ।

हमासको आक्रमणको तेस्रो दिन सोमबार पनि दुवै पक्षले एकअर्काप्रति लक्षित गरेर मिसाइल आक्रमण जारी राखेका थिए । इजरायलले गाजा क्षेत्रमा मिसाइल आक्रमण गर्नुका साथै आसपास आफ्ना नागरिक रहेको क्षेत्रमा पुनः नियन्त्रण लिएको दाबी गरेको छ । शनिबारयता युद्धमा परी इजरायलमा ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ, जसमध्ये २६० जनाको एक सांगीतिक कार्यक्रमको क्रममा हमासका बन्दुकधारीको आक्रमणमा मृत्यु भएको थियो । यस्तै, दर्जनौं व्यक्ति अहिले पनि आफ्नो नियन्त्रणमा रहेको हमासले दाबी गरेको छ ।

इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा भने ५ सय जनाभन्दा बढीको मृत्यु भएको प्यालेस्टाइनका स्वास्थ्य अधिकारीले बताएका छन् । अमेरिकाले इजरायल–हमासको युद्धमा ९ जना अमेरिकीको मृत्यु भएको जनाएको छ । बेलायतले पनि आफ्ना १० जना नागरिकको मृत्यु भएको आशंका गरेको छ । इजरायलले लेबनान हुँदै प्रवेश गर्न लागेका सशस्त्र समूह मारिएको जनाएको छ । युरोपेली संघले दुई पक्षमा युद्ध सुरु भएपछि प्यालेस्टाइनलाई गर्दै आएको सहयोग रोकेको छ ।

इजरायल र हमासको युद्धको तेस्रो दिन अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि आह्वान र मध्यस्थताका लागि तत्परता देखाएका छन् । कतारका विदेश मन्त्रालयले इजरायल र हमासबीच मध्यस्थताका लागि प्रयास गरिरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले शनिबार रातिदेखि नै वार्ता गरिरहेको समाचार संस्था रोयटर्सलाई बताएका छन् । ‘हाम्रो प्राथमिकता रक्तपातपूर्ण युद्ध अन्त्य गर्नु हो । यस्तै, कैदीबन्दीको रिहाइ र युद्धको असर क्षेत्रीय स्तरमा फैलिन नदिनु पनि हो,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*