मलेरियाविरुद्धको खोपले पायो स्वीकृति, बाल स्वास्थ्यमा ऐतिहासिक सफलता

ए वान डेस्क
२१ आश्विन २०७८, बिहीबार ०८:१९

मलेरियाविरुद्धको खोपले स्वीकृति पाएको छ। योसँगै अफ्रिकाको अधिकांश क्षेत्रका बालबालिकाले अब मलेरियाविरुद्धको खोप लगाउन पाउने भएका छन्।

खोपले स्वीकृति पाउनुलाई घातक मलेरियाविरुद्धको अभियानका लागि ऐतिहासिक सफलता मानिएको छ। मलेरियाका कारण विशेष गरी बालबालिका तथा शिशुहरुको ज्यान जाने गरेको छ।

धेरै वर्षको प्रयासपछि मलेरियाविरुद्धको खोप तयार भएको हो। यो औषधि विज्ञानमा विश्वकै ठूलो उपलब्धिमध्येमा पर्छ।

आरटिएस,एस नाम गरेको खोप ६ वर्ष पहिले नै प्रभावकारी प्रमाणित भएको थियो। घाना, केन्या र मालवीमा ‘पाइलट’ खोप अभियानपछि विश्व स्वास्थ्य संगठनले मलेरियाविरुद्धको खोपलाई स्वीकृति प्रदान गरेको हो। डब्लुएचओले खोप सब–सहारा अफ्रिकी क्षेत्रसँगै मलेरियाको संक्रमणदर उच्चदेखि मध्यम रहेको अरु क्षेत्रमा पनि खोप लगाउन भनेको हो। डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले मलेरियाविरुद्धको खोप प्रभावकारी भई स्वीकृति हुनु ऐतिहासिक क्षण रहेको बताएका छन्।

उनले भनेका छन्, ‘लामो पर्खाइपछि बालबालिकामा मलेरियाविरुद्धको खोपले स्वीकृति पाउनु विज्ञान, बाल स्वास्थ्य र मेरिया नियन्त्रणका लागि ब्रेकथ्रू हो। यसले रहेक वर्ष दशौँ हजार बालबालिकाको ज्यान जोगाउन सक्नेछ।’

संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने मलेरियाले रक्तकोषलाई नोक्सानी गरी व्यक्तिको ज्यानै जान सक्छ। खोपले मलेरिया परजीवीलाई मार्ने छ। अहिलेसम्म लामखुट्टेको टोकाइबाट बच्न झुल प्रयोग गर्ने तथा मार्नका लागि विषादी प्रयोग गर्नेसहितका उपाय अपनाइएको छ।

मलेरियाका कारण सबैभन्दा धेरै अफ्रिकामा मानवीय क्षति हुने गरेको छ। सन् २०१९ मा मलेरियाका कारण अफ्रिकामा दुई लाख ६० हजारभन्दा धेरै बालबालिकाको ज्यान गएको थियो।

विश्वमा हरेक वर्ष २२ करोड ९० लाख मलेरिया संक्रमित हुने गरेका छन्। त्यसमध्ये ९४ प्रतिशत संक्रमित अफ्रिकाका हुने देखिएको छ। विश्वभर मलेरियाका कारण प्रतिवर्ष चार लाख ९ हजारभन्दा बढीको ज्यान जाने गरेको छ।

खोपले १० मध्ये चार जनामा मलेरियाको संक्रमण रोक्न सक्ने र १० मध्ये तीनजनामा गम्भीर खालको संक्रमण रोक्ने देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*