कोरोना महामारीः २४ घण्टामा थप १ सय ३ को मृत्यु, मृतकको संख्या १ हजार नाघ्यो

ए वान डेस्क
२८ माघ २०७६, मंगलवार १३:४५

चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा एक सय तीन जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार १६ पुगेको सीएनएनले जनाएको छ ।

एक हजार १४ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार ६ सय ३८ पुगेको छ ।

कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोलीले चीनमा आजैदेखि उपचार, रोकथामका उपायहरुको काम थालेको छ ।

अन्तराष्ट्रियस्तरका विज्ञहरुसहित डब्ल्यूएचओको टोली सोमबार चीन पुगेको थियो ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार तीन हजार नौ सय ९६ जनालाई उपचारपछि पूर्णरुपमा निको भएर डिस्चार्ज गरिएको छ ।

ज्यान गुमाउनेको सङ्ख्या हजार नाघे पनि नयाँ मानिसमा सङ्क्रमण हुने दर भने २० प्रतिशतले घटेको चीनले दावी गरेको छ ।

हुबेको स्वास्थ्य आयोगले सोमबार २ हजार ९७ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ । आइतबार सङ्क्रमण हुनेको सङ्ख्या २ हजार ६ सय १८ रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*