जनकपुरका युवाले बनाए मानव रहित यन्त्र : सवारी साधनलाई दुर्घटना हुनवाट जोगाउछ
जनकपुरधाम । मेकेनिकल इन्जिनियरिंङ अध्ययनरत युवाहरुले मानव रहित यन्त्र बनाएका छन् । उनीहरुले बनाएका मानव रहित यन्त्रहरुले ट्राफिक कन्ट्रोल गर्नेछ । तापक्रम पत्ता लगाउनुको साथै माटोको प्रकार पत्ता लगाउने छ । साथै सवारी साधनलाई दुर्घटनाबाट बचाउने लगायतका यन्त्रहरु समेत रहेका छन् ।
टेक्नोमाइन्ड रोबोटिक्स क्लव र द रोबो क्रियु नामक संस्थामा आवद्ध रहेका मेकेनिकल इन्जिनियरिंङ पढिरहेका आधा दर्जन युवाहरुले मिलेर ती यन्त्र निर्माण गरेका छन् । दीपक साह नामक युवाको नेतृत्वमा रहेको सो टोलीमा शाहील गुप्ता, सशांक कर्ण, सुभाष शर्मा, जितेन्द्र शर्मा र शेखर कुमार नामक युवा रहेका छन् । उनीहरु सबै मेकेनिकल इन्जिनियरिङका विद्यार्थी हुन् ।
ती युवाहरुले मैनुअल ट्राफिक कन्ट्रोल सिस्टम, अटोमेटिक ट्राफिक लाइट कन्ट्रोल, मार्स रोबोट, अब्सटेकल रोबोट, लाइन फोलोइंग रोबोट लगायतका यन्त्रहरु बनाएका छन् ।
अटोमेटिक ट्राफिक लाइट कन्ट्रोलले कुनै मानवीय सहयोग बिना ट्राफिक लाइटहरुलाई नियन्त्रण गर्न सक्ने उनीहरुको भनाई छ । उनीहरुले निर्माण गरेको अब्सटेकल रोबोटबाट सडकमा गुडिरहेको सवारी साधनलाई दुर्घटनाबाट जोगाउन सक्छ । त्यो रोबोट सवारी साधनमा जडान गरिए अगाडी रहेको बाधालाई २० सेन्टिमिटर अगाडी नै पहिचान गरेर सवारी साधनलाई बाटो परिवर्तन गर्न सक्ने बनाउन सकिन्छ ।
त्यस्तै मार्स रोबोटले मानव जान नसक्ने स्थानमा पुगेर त्यहाँको वस्तु स्थिति, त्यहाँको वातावरण, माटो पानी आदीको विषयमा जानकारी संकलन गर्न सहयोग गर्न सक्नेछ । नासाले मार्समा पठाएको क्युरोसिटि रोबोटबाट प्रेरित भएर ती युवाहरुले यस रोबोटको निर्माण गरेका हुन् । यो रोबोट निर्माण गरेका शाहील गुप्ताले यस रोबोटलाई पृथ्वीको मानव जान नसक्ने स्थानमा पठाउन सकिने बताए ।
सरकारी सहयोगको खाँचो
मानव रहित यन्त्र निर्माण गरेका ती युवाहरुले जनकपुरधाममा एउटा रिसर्च सेन्टरको स्थापना माग गरेका छन् ।
उनीहरुले बनाएका ती यन्त्रहरुको परिक्षणका लागि आयोजित कार्यक्रममा सरकारी सहयोग भए अन्य युवाहरु पनि लाभान्वित हुने भएकोले रिसर्च सेन्टरको स्थापना गर्न माग गरेका हुन् ।
युवाहरुको नेतृत्वकर्ता दीपक साहले मिथिला रिसर्च सेन्टरको नाममा जनकपुरधाममा संस्था स्थापना गरिए अन्य अविष्कारहरुका लागि सहयोग पुग्ने बताए । ‘हामीले सरकारी सहयोग पायौँ भने जनकपुरधाममै अटोमेटिक ट्राफिक लाइट कन्ट्रोल कम लागतमै जडान गर्न सक्छौं ।’ उनले भने । उनले ५ लाखको लागतमा कुनै एक स्थानमा यो प्रणाली जडान गर्न सक्ने धारणा राखे । जसमा सिसिटिभी क्यामेरा समेत आफै जडान गरिएको हुन्छ । – राजधासी दैनिक