अमेरिका–चीन व्यापार युद्धमा ‘यु टर्न’, हुवावेमाथिको प्रतिबन्ध फुकुवा

ए वान डेस्क
१५ असार २०७६, आईतवार १२:१४

नौ महिनादेखि जारी अमेरिका र चीनबीचको व्यापार युद्ध तत्कालका लागि थामिएको छ।

जापानको ओसाकामा भएको जी–२० सम्मेलनमा भएको राष्ट्रपति डोनाल्ड ट्रम्प र समकक्षी सी चिनफिङबीचको साइडलाइन वार्तापछि व्यापार थामिएको हो।

शनिबार भएको वार्तामा अमेरिकाले थप तीन सय अर्ब डलरका चिनियाँ सामानमा थप कर नलगाउने भएको छ भने चीनले अमेरिकासँगको व्यापार असन्तुलनलाई कम गर्न धेरै अमेरिकी सामान किन्ने भएको छ।

यद्यपी यसअघि दुई देशले एकअर्काका सामानमा लगाएको कर भने कायम छ।

उक्त वार्ताको सबैभन्दा महत्वपूर्ण उपलब्धि अमेरिकाले चीनको सबैभन्दा ठूलो सूचना प्रविधि कम्पनी हुवावेलाई लगाएको प्रतिबन्ध हटाउने भएको छ।

राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलन गर्दै हुवावेका सामान अमेरिकी कम्पनीले बिक्री गर्न सक्ने पनि प्रष्ट पारेका छन्।

पछिल्लो समय सुरक्षाको कारण देखाउँदै अमेरिकाले हुवावेलाई प्रतिबन्ध लगाएपछि अमेरिका–चीन व्यापार युद्ध थप जटिल बनेको थियो। हुवावेले आफ्नो गोप्य सूचना चोरेको आरोप अमेरिकालेलगाएको थियो।

राष्ट्रपति ट्रम्पले चीनमाथि वैद्धिक सम्पत्ति चोरी गर्ने प्रयास गरेको आरोप लगाएका थिए। चिनियाँ सामान अमेरिकामा बेचेर उनीहरूले अमेरिकी सुरक्षासँग जोडिएको विशेष सूचना दिन बाध्य बनाएको उनले बताउँदै आएका थिए।

चीनले भने यसलाई अस्वीकार गर्दै आएको थियो।

व्यापार युद्ध सुरू भएपछि गत मेसम्म दुबै देशबीच ११ पटक व्यापार वार्ता भएका थिए। तर ती वार्ताले परिणाम भने दिन सकेका थिएनन्।

उता हुवावेले श्वेतपत्र सार्वजनिक गर्दै आफूले कुनै पनि वौद्धिक चोरी नगरेको प्रस्ट पारेको थियो। हुवावेका कानुनी अफिसर सङ ल्युपिङले हुवावेसँग ११ हजार १ सय अमेरिकी कम्पनीसहित ८७ हजार ८ सय ५ नयाँ पेटेन्ट राइट आफूसँग रहेको दाबी गर्दै कुनै वौद्धिक चोरी नगरेको प्रस्ट पारेका थिए।

सरकारले हुवावेलाई कालो सूचीमा राखेपछि अमेरिकी कम्पनी गुगलले हुवावेका फोनहरूमा जिमेल, युट्युब, गुगल म्यापलगायत सेवा उपलब्ध नहुने बताएको थियो।

शनिबार भएको ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङको भेटले व्यापार युद्धमा राहत मिल्ने देखिएको छ।

भेटपछि अमेरिका र चीन दुबै देश व्यापार वार्ता सुरू गर्न तयार भएको बताइएका छन्। ट्रम्प- सीकोपछिल्लो सहमतिले जारी व्यापार युद्ध टुंगिने र विश्वव्यापी आर्थिक मन्दीलाई पनि राहत मिल्ने आशा गरिएको छ।

अमेरिकाले चिनियाँ सामानमा थप प्रतिबन्ध लगाउने चर्चा चलिरहेको बेला ट्रम्पको हुवावेको व्यापार पनि खुला गरेपछि चिनियाँ कम्पनीलाई राहत मिलेको छ। ट्रम्पले चीनसँगको वार्ता जारी राख्ने पनि बताएका छन्। – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*