मोदीले तपस्या गरेको केदारनाथको गुफामा दिनको हजार रुपैयाँ भाडा !

एजेन्सी – भारतमा लोकसभा चुनाव प्रचार सकिनेबित्तिकै शनिवार प्रधानमन्त्री नरेन्द्र मोदी केदारनाथ दर्शन गर्न पुगे ।
मोदी पानी परिरहँदा पनि पैदल हिँडेर ध्यान गुफा पुगे । त्यहाँ उनले ध्यान लगाए ।
यो गुफा केदारनाथ मन्दिरको देब्रेतर्फको पहाडमा खोपिएको छ । गुफा पाँच मिटर लामो र तीन मिटर चौडा छ ।
गुफाको निर्माण गर्न साढे आठ लाख भारु खर्च गरिएको थियो । यसलाई रुद्र गुफा नाम दिइएको छ ।
नेहरु पर्वतारोहण संस्थानले रुद्र गुफा निर्माण गरेको हो । केदारनाथमा यस्ता किसिमका पाँचवटा गुफा बनाउने योजना छ । यो पहिलो गुफा ट्रायलका रूपमा बनाइएको हो ।
गुफामा एक व्यक्तिले अधिकतम तीन दिनका लागि बूकिङ गराउन सक्छन् । आवश्यक परेमा बूकिङ अवधि बढाउन सकिन्छ ।
गुफाको बूकिङ गढवाल मण्डल विकास निगमले गर्छ । बूकिङ गराउने मानिसलाई पहिले गुप्तकाशीमा स्वास्थ्य जाँच गराइन्छ । अनि केदारनाथमा पनि जाँच हुन्छ ।
गुफा समुद्र सतहभन्दा १२ हजार २५० फीट माथि छ । यो केदारनाथ मन्दिरभन्दा लगभग दुई किलोमिटर पर मन्दाकिनी नदीको पारिपट्टि बनाइएको छ । पहाडी शैलीमा बनेको गुफामा सबै मूलभूत सुविधा उपलब्ध छ । गुफामा बेड, टोइलेट, बिजुली र टेलिफोन जस्ता आधुनिक सुविधा पनि छन् ।
९९० भारुमा एक दिनको बूकिङ गराउन पाइन्छ । एकछाकको खाना पनि उपलब्ध गराइन्छ । त्यसको छुट्टै पैसा लाग्छ ।
केदारनाथ ध्यान गुफा यस तीर्थयात्रा सीजनमा पहिलोपटक तीर्थयात्रुका लागि खोलिएको छ ।