पाकिस्तान आम निर्वाचन : भावी प्रधानमन्त्रीको दौडमा तीन नेता

ए वान डेस्क
२८ असार २०७५, बिहीबार १८:३९

पाकिस्तानमा आगामी जुलाई २५ मा आम निर्वाचन सम्पन्न हुँदैछ । पाकिस्तानका चार प्रान्त पन्जाब, सिन्ध, खाइबर पक्तुनख्वा र बलुचिस्तानका प्रान्तीय सभा र पाकिस्तानको राष्ट्रियसभा गरी जम्मा ८ सय ४९ सिटको लागि एकैसाथ निर्वाचन हुन लागेको हो ।

करिब २० करोड जनसङ्ख्या रहेको पाकिस्तानमा १० करोड पाँच लाख मतदाता रहेका छन् । निर्वाचनमा कुल ११ हजार ८ सय ५५ उम्मेदवारले भाग लिएका छन् ।

सबैभन्दा धेरै मतदाता रहेको पन्जाबमा मात्रै ५ करोडभन्दा धेरै मतदाता छन् भने सिन्धमा दुई करोड २० लाख, खाइबर पक्तुनख्वामा एक करोड त्रिपन्न लाख र बलुचिस्तानमा जम्मा ४३ लाख मतदाता रहेका छन् ।

निर्वाचनमा पाकिस्तान मुस्लिम लिग, पाकिस्तान पिपुल्स पार्टी र पाकिस्तान तेहरिक-ए-इन्साफ बीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ । राष्ट्रिय सभाको ३ सय ४२ सिटमध्ये २ सय ७२ सिटमा प्रत्यक्ष निर्वाचन हुनेछ भने ६० सिट महिलाको लागि र १० सिट धार्मिक अल्पसङ्ख्यकहरुको लागि आरक्षित छन् ।

कुनै पनि राजनीतिक दललाई स्पष्ट बहुमत प्राप्त गर्न कम्तिमा पनि १ सय ७२ सिट जित्न आवश्यक हुन्छ । बहुमत प्राप्त गर्ने दललाई नै प्रधानमन्त्री छान्ने अधिकार हुन्छ ।

तीन पटकका प्रधानमन्त्री नवाज शरिफको पाकिस्तान मुस्लिम लिग पार्टी पाँच वर्षदेखि सत्तामा छ । उसले सेहवाज सरिफलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सम्भावना छ । तर, निर्वाचनमा उसलाई बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी र पूर्व क्रिकेटर इमरान खान नेतृत्वको पाकिस्तान तेहरिक-ए-इन्साफले कडा चुनौती दिनेछन् ।

यी हुन् प्रधानमन्त्रीका दाबेदार

बिलाबल भुट्टो जर्दारी
पाकिस्तान पिपुल्स पार्टी

भुट्टो वंशका उत्तराधिकारी हुन् बिलावल । भर्खर २९ वर्ष मात्रै भएका उनकै नेतृत्वमा पार्टी निर्वाचन अभियानमा होमिएको छ । सन् २०१३ को निर्वाचनमा नराम्रो हार बेहोरेको पार्टीले यसपटक संसदमा बहुमत प्राप्त गरेर सरकार चलाउने लक्ष्य लिएको छ ।

तर, उनलाई प्रधानमन्त्री बन्न भने त्यति सजिलो छैन । भुट्टो जर्दारीले राजनीतिक रुपमा अझै पनि आफूलाई प्रमाणित गरेका छैनन्, त्यसैले यो निर्वाचन उनको लागि अग्निपरिक्षा हुनेछ । त्यसमाथि पीपीपीले एक दशकदेखि निरन्तर सरकार चलाइरहेको सिन्ध प्रान्तमा खराब रेकर्ड बनाएको छ । त्यसैले पार्टी प्रमुखका लागि यो धेरै महंगो पर्न सक्छ ।

इमरान खान
पाकिस्तान तेहरिक-ए-इन्साफ

केही वर्ष अघिमात्रै राजनीतिमा प्रवेश गरेका पूर्वक्रिकेटर इमरान खान प्रतिपक्षी पीटीआईका प्रमुख नेता हुन् ।

उनी सन् २०१४ को आन्दोलनलाई सफल नेतृत्व गरेर राजनीतिमा एकाएक उदाएका थिए । सत्तारुढ दलले निर्वाचनमा धाँधली गरेको भन्दै सरकारको राजिनामाको माग गर्दै उनले आन्दोलन चर्काएका थिए ।

त्यसपछि पनि यो पार्टीले पीएमएल-एन नेतृत्वको सरकार भ्रष्टाचारी भएको भन्दै विभिन्न प्रर्दशनहरु गर्दै आएको छ । पीटीआईले खाइबर पक्तुनख्वा प्रान्तमा पाँच वर्षदेखि शासन गर्दै आएको छ । उसले केहि सुधारवादी कामहरु गरेको भए पनि पूर्वाधार परियोजनाहरुमा भ्रष्टाचारको आरोप खेप्दै आएको छ ।

सेहवाज सरिफ
पाकिस्तान मुस्लिम लिग-एन

सेहवाज सरिफ पूर्वप्रधानमन्त्री नवाज सरिफका कान्छो भाइ हुन् । यदि पिएमएल-एनले संसदमा सरकार बनाउन पुग्ने सिट प्राप्त गरेमा उनी पाकिस्तानको प्रधानमन्त्री बन्ने धेरैले अनुमान गरेका छन् ।

उनी यसअघि देशको सबैभन्दा ठूलो पन्जाब प्रान्तका मुख्यमन्त्री थिए । एक दशकसम्म मुख्यमन्त्रीको रुपमा पञ्जाबको शासन गरेका उनले कुशल प्रशासकको छवि बनाएका छन् ।

तर उनको लागि पनि अगाडिको बाटो धेरै नै चुनौतीपूर्ण छ । उनका प्रतिस्पर्धीहरुले दाजु नवाज सरिफले सत्ता छोड्नुपरेको भ्रष्टाचार काण्डमा सेहवाजको पनि हात रहेको आरोप लगाउँदै आएका छन् । त्यस्तै पार्टीभित्रै पनि उनको अन्य नेताहरुसँग राम्रो सम्बन्ध नरहेकाले अर्कै नेतालाई उम्मेदवार बनाइन सक्ने पनि केहीको बुझाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*