पास्कितानमा आत्मघाती बम विस्फोट, १२ जनाको मृत्यु

पाकिस्तानको पेशावरमा मंगलबार राति गराइएको संदिग्ध आत्मघाती विस्फोटमा अवामी नेसनल लिग(एएनपी) का नेता हारुन बिलौरसहित कम्तीमा १२ जना मारिएका छन् ।
याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित गरी गराइएको विस्फोटमा परि ३० जनाभन्दा बढी घाइते भएका छन् । एएनपी नेता आफ्ना कार्यकर्ताहरुसँग छलफल गर्दै गर्दा विस्फोट गराइएको हो । बिल्लौर मञ्चमा उक्लँदै गर्दा एक व्यक्तिले आत्मघाती विस्फोट गराएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानी समाचार संस्था डनका अनुसार विस्फोटबाट गम्भीर घाइते भएका बिल्लौरको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।
बिल्लौरका बुवा तथा एएनपीका वरिष्ठ नेता बशीर अहमद बिलौर पनि सन् २०१२ मा पेशावरमा पार्टीको बैठकका क्रममा आत्मघाती विस्फोटमा मारिएका थिए ।
पाकिस्तानमा यही जुलाई २५ मा आम चुनाव हुँदैछ । चुनाव नजिकिँदै जाँदा हिंसात्मक घटनाहरु बढ्दै गएका छन् ।