एमाले-माओवादी एकताको मिति र विधिसहितको प्रतिवेदन समितिमा
नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताका विभिन्न विषयमा सहमति जुटाउन गठन गरिएका समितिले बैशाख ९ गतेका दिन पार्टी एकता गर्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सांझ बसेको पार्टी एकता संयोजन समितिको बैठकमा अन्तरिम विधान र संगठनात्मक संरचनाका सवालका बारेमा सुझाव दिन र वैचारिक राजनीतिक प्रतिवेदनका बारेमा सुझाव प्रतिवेदन पेश गर्नका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएका हुन्।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दुवै कार्यदलले पार्टी एकताको घोषणा पार्टी स्थापना दिवस बैशाख ९ गते का दिन गर्दा उपयुक्त हुन्छ भनी दिएको सुझावलाई पार्टी एकता संयोजन समितिले सकारात्मक लिएको बताएका थिए। एमाले महासचिव एव रक्षामन्त्री ईश्वर पोखरेलले दुवै कार्यदलले पार्टी एकता संयोजन समितिको बैठकमा आआफ्ना प्रतिवेदन प्रस्तुत गरिसकेकाले २२ गते बस्ने पार्टी एकता संयोजन समितिको बैठकले दुवै प्रतिवेदन छलफल गरी एकताको मिति लगायत विषयमा औपचारिक घोषणा गर्ने जानकारी दिए।
उनले दुवै समितिले आधारभुत रुपमा मिलाएका विषय बाहेकका विषयमा संयोजक समितिले छलफल गरि अन्तिम निर्णय गर्ने उल्लेख गरे। बैठकमा दुवै पार्टीका शिर्ष नेताहरु सहित कार्यदलका सदस्यहरू उपस्थित थिए।
थाहा खबरबाट